काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्ला तीन महिनामा नेपाली अर्थतन्त्र क्रमशः सक्रिय बन्दै गएको बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित र गोरखापत्र एकेडेमीको सहकार्यमा सम्पन्न ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले हालका आर्थिक सूचकले अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको पुष्टि गर्ने धारणा राख्नुभयो ।
मन्त्री खनालका अनुसार पछिल्लो तीन महिनाको अवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको छ । उत्पादन तथा उत्पादकत्वमा सुधार देखिन थालेको उल्लेख गर्दै उहाँले अन्तरिम सरकारले छोटो समयमै लगानीमैत्री वातावरण बनाउन थालेको भन्दै विदेशी, विशेषगरी चिनियाँ लगानीकर्ताबाट सकारात्मक प्रतिक्रिया आइरहेको जानकारी दिनुभयो ।
अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको उल्लेख गर्दै उहाँले तरलता व्यवस्थापन र लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारहरू गरिँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गोरखापत्रजस्ता संस्थाले ज्ञान विस्तार र नीति बहसमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले दीर्घकालीन आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार विकास अपरिहार्य रहेको धारणा राख्दै ठूलो सार्वजनिक खर्च गर्न सक्ने वातावरण बनाउन राष्ट्र बैंक तत्पर रहेको उल्लेख गर्नुभयो । साथै, निष्पक्ष र विश्वसनीय निर्वाचनले देशमा राजनीतिक स्थायित्व ल्याउने विश्वास व्यक्त गर्दै निजी क्षेत्रलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचार प्रकाशनसँगै विचार–बहसको माध्यमबाट अर्थतन्त्रमा देखिएको रिक्तता पूर्ति गर्न र आशाको सन्देश प्रवाह गर्न ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार आर्थिक पुनरुत्थान, लगानी वातावरण सुधार र भविष्यका विकास रणनीतिमाथि गहिरो छलफल गर्ने उद्देश्यले निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता तथा सरोकारवाला निकायबीच साझा मञ्च तयार गरिएको हो । पहिलोपटक आयोजना गरिएको ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एण्ड रिजिलेन्स’ अन्तर्गत ‘स्मार्ट पूर्वाधार : विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल?’ तथा ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा तीनवटा छलफल सत्र सञ्चालन हुने जनाइएको छ ।
विसं १९५८ मा प्रकाशन सुरु भएको गोरखापत्र नेपालकै पहिलो समाचारपत्र हो । (रासस)


