वीरगञ्ज, पर्सा ।
विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका–२ घुसुकपुरस्थित इदगाह चोक नजिकैबाट शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट श्रोत नखुलेको रु. १४ लाख १३ हजार ५ सय नगद बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
२०७९ सालको मिति २०८२ भदौ ५ गते करिब ४ बजेर २० मिनेटतिर भारतिय नम्बर प्लेट (BR05 AB 7761) र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकललाई चेकजाँच गर्दा उक्त रकम भेटिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामा वीरगञ्ज–२ घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बारा जिल्लाको महागढीमाइ नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । उनीहरू सवार मोटरसाइकलमा फल्स सिलिङ (लुकाउने खालको संरचना) बनाई नगद रकम लुकाएर ल्याइएको पाइएको छ ।
बरामद रकममध्ये रु. १० लाख हजार दरका १००० थान नोट र रु. ४ लाख १३ हजार ५ सय पाँच सय दरका ८२७ थान नोट रहेका छन् ।
प्रहरीले उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।


