पर्सा — युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा, पर्सा जिल्लाका जल संकट झेलिरहेका बस्तीहरूलाई लक्षित गर्दै ‘मेरो पानी मेरो बानी’ अभियान प्रारम्भ गरिएको छ। यस अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एनजीओ सिसीले संयुक्त भूमिका निर्वाह गरेका छन्।
वीरगञ्ज–११ श्रीपुरस्थित धागर टोलमा सम्पन्न विशेष कार्यक्रममा दैनिक जीवनमा स्वच्छ पानीको पहुँचबाट वञ्चित स्थानीयलाई आवश्यक सामग्री वितरण गरिएको हो। कार्यक्रममा ३० घरधुरीलाई टुटी जडान गरिएको बाल्टिन, जग र पानी सफा गर्ने केमिकल वितरण गरिएको थियो।
पछिल्ला वर्षहरूमा मधेश प्रदेशमा झनै तीव्र बनेको पानीको अभाव र जलस्रोतको दुर्लभता समाधानतर्फ यो अभियानलाई प्रभावकारी पहलको रूपमा हेरिएको छ। जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले भने, “हाललाई अत्यधिक प्रभावित क्षेत्रमा ६ सय थान उपकरण वितरणको तयारी गरिएको छ, आगामी दिनमा अझ व्यापक बनाउने योजना छ।” साथै, उनले दीर्घकालीन समाधानका उपायहरू खोज्न आवश्यक रहेकोमा पनि जोड दिए।
कार्यक्रमको नेतृत्व नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी सक्रिय सदस्य तथा समाजसेवी गुड्डी साहले गरेकी थिइन्। कार्यक्रममा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, एनजीओ सिसीका प्रतिनिधि दुलारचन प्रसाद र आनन्द यादवको उल्लेखनीय उपस्थिति रहेको थियो।
संगठकहरूको भनाइमा, अभियानको मूल उद्देश्य पानीको पहुँच सुनिश्चित गर्नु मात्र नभई, नागरिकमा जल स्रोतको संरक्षण र सदुपयोगप्रति चेतना विकास गर्नु हो। ‘मेरो पानी मेरो बानी’ अभियानले स्थानीय स्तरमा पानीको दिगो व्यवस्थापन र प्रयोगबारे व्यवहारिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


