२२ असार, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव अहिले प्रहरी निगरानीबाहिर छन्। सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कामाथि अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि उनी फरार भएका हुन्।
यादवमाथि सार्वजनिक पदाधिकारीप्रति अवहेलना र शान्ति सुरक्षामा अवरोध पुर्याएको अभियोगमा मुद्दा दर्ता भएको छ। अदालतबाट पक्राउ अनुमति पाएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार यादवको सम्भावित ठेगानामा खोजतलास जारी छ।
डीआईजी चतुर्वेदीले भने, “हामी विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिरहेका छौं, उनी छिट्टै पक्राउ पर्नेछन् भन्ने विश्वास छ।”
प्रहरी स्रोतका अनुसार यादव अहिले भारततर्फ भागिसकेको अनुमान गरिएको छ। उनलाई समात्नका लागि विशेष प्रहरी टोली गठन गरिएको छ।
गत बिहीबार राति यादव र सर्लाहीका एसपी खड्काबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा भाइरल बनेको थियो, जसमा यादवले अपशब्द प्रयोग गरेका थिए। सो घटनापछि सार्वजनिक चासो र आलोचना बढेपछि प्रहरी सक्रिय भएको हो।
अहिलेसम्म यादव सम्पर्कविहीन छन्। यसबीच अदालतले सार्वजनिक सेवा कार्यमा बाधा पुर्याएको र उपद्रव सिर्जना गरेको आरोपमा दुई वटा छुट्टाछुट्टै मुद्दामा पक्राउ आदेश जारी गरेको हो। प्रहरी कार्यालयले उनी छिट्टै पक्राउमा पर्ने दाबी गर्दै अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।


