बाराको परवानीपुर गाउँपालिका–५ स्थित बहुअरी टोलमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।
स्वच्छ समाज युवा क्लबको आयोजनामा श्री विष्णु नारायण धर्मशालामा सम्पन्न कार्यक्रममा ४५ जना सफल विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि डा. शिवशंकर यादवले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहँदै निरन्तर अध्ययन गर्न प्रेरणा दिए। उनले शिक्षा एक दीर्घकालीन प्रक्रिया भएकाले आत्मसमर्पण र निरन्तरताले मात्र सफलताको ढोका खुल्ने बताए।
सो अवसरमा समाजसेवी शिवशंकर पटेलले विद्यार्थीसँग अनुशासन र लगनशीलता हुनु अत्यावश्यक रहेको उल्लेख गर्दै, बडापाकाको सम्मान र सकारात्मक सोचले नै जीवनको मार्गदर्शन गर्छ भन्ने सन्देश दिए।
अधिवक्ता रामचन्द्र सिंहले परम्परागत र समसामयिक शिक्षाबीचको अन्तर स्पष्ट गर्दै वर्तमान शैक्षिक प्रणालीले नयाँ अवसरहरू सिर्जना गरिरहेको बताए। डा. प्रमोद यादवले विषय छनोट गर्दा रुचि र दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्न सुझाव दिए।
त्यस्तै, गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका समाजसेवी सञ्जु साहले वर्तमान समाज गलत दिशातर्फ उन्मुख भइरहेको चिन्ता व्यक्त गर्दै शासनतन्त्रमा देखिएको कमजोरी र भ्रष्टाचारले राष्ट्रको विकास अवरुद्ध भएको धारणा राखे।
कार्यक्रममा डा. अर्जुन पटेल, प्रा. जितेन्द्र वर्मा, रमेश सिंह, सई टेजप्रताप सिंह, ज्ञानेन्द्र शाह, मोहन यादव, रामजी सिंह, वडा सदस्य दारा सिंह पटेल, भरत ठाकुर लगायतले पनि शुभकामना मन्तव्य दिंदै विद्यार्थीहरूलाई उज्यालो भविष्यको कामना गरे।
सोही अवसरमा समाजसेवी अजय पटेलले क्लबलाई आगामी कार्यक्रमहरूमा सहयोगस्वरूप ५ हजार रुपैयाँ नगद प्रदान गरे। सम्मानित विद्यार्थी सुस्मिता पासवान, आदित्य यादव र पूनम कुमारी साहले धन्यवाद ज्ञापन गर्दै आफ्ना अनुभवहरू पनि सुनाए।
कार्यक्रममा बहुअरी टोलबाट सबैभन्दा उच्च ग्रेड ल्याउने विद्यार्थी पूनम कुमारी साहलाई वडा अध्यक्ष रामेश्वर साहले ५ हजार रुपैयाँको चेक प्रदान गर्दै विशेष प्रोत्साहन दिए।
कार्यक्रमको समापनमा क्लब अध्यक्ष भूपेन्द्र पटेलले सबै सहयोगीहरूप्रति आभार व्यक्त गर्दै टोलका कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरे।
क्लबका सदस्य प्रा. सरोज यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव तथा अधिवक्ता त्रिलोक प्रताप सिंहले गरेका थिए। क्लब उपाध्यक्ष उमेश साह, सदस्यहरू सन्दिप यादव, लालबाबु यादव, कृष्णा साह र रञ्जित साहले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


