पर्सा जिल्ला प्रहरी कार्यालयको सक्रिय अनुगमन र सुराकीका आधारमा हुण्डी कारोबारमा संलग्न रहेका तीन जना व्यक्तिहरूलाई करिब २८ लाख २८ हजार रुपैयाँसहित पक्राउ गरिएको छ। प्रहरीले असार १७ गते विभिन्न स्थानमा छापा मार्दै उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न स्थानमा विशेष निगरानी गर्दै उनीहरूलाई नगदसहित पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ परेका ती व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।
पक्राउ परेका व्यक्तिहरू र बरामद रकम:
१. अनिल कुमार बर्णवाल (२६ वर्ष)
– स्थायी ठेगाना: पकाहामैनपुर गाउँपालिका–२, पर्सा
– पक्राउ स्थान: वीरगञ्ज महानगरपालिका–१०, मकालु चोक
– बरामद रकम: कालो झोलामा लुकाइएको रु. ९,४७,०००
२. बिनित कुमार श्रीवास्तव (२३ वर्ष)
– स्थायी ठेगाना: वीरगञ्ज महानगरपालिका–३, आदर्श टोल
– पक्राउ स्थान: कृषी विकास बैंक नजिक, लिंकरोड, वीरगञ्ज
– बरामद रकम: कालो झोलामा राखिएको रु. १५,८१,०००
३. दिपक कुमार सोनार (४४ वर्ष)
– स्थायी ठेगाना: परवानीपुर गाउँपालिका–४, बारा
– पक्राउ स्थान: रजत जयन्ती चोक, वीरगञ्ज महानगरपालिका–१६
– बरामद रकम: मोटरसाइकलमा सवार रहँदा, पाइन्टको खल्तीबाट भेटिएको रु. ३,००,०००
पक्राउ परेकाहरूको साथबाट लुकाइछिपाई राखिएको रकमलाई प्रहरीले सुरक्षित राखेको छ र थप अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ। हुण्डी कारोबारले वैधानिक बैंकिङ प्रणालीलाई कमजोर बनाउने र अवैध ढंगले विदेशी मुद्राको लेनदेन हुने भएकाले प्रहरी प्रशासन यस्ता गतिविधिमाथि कडा निगरानी गरिरहेको जनाएको छ।


