वीरगञ्ज — एएनएन न्यूज
पर्सा — सशस्त्र प्रहरी बल नेपाल, गण नं. १३ मुख्यालय, पर्साले चालु आर्थिक वर्षका ११ महिनामा भन्सार छली गरेर ल्याइएका तथा बिल-बिजक विना सञ्चालित अवैध सामानहरू व्यापक मात्रामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उक्त अवधिमा करिब ३८ करोड २७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका वस्तु बरामद गरिएका छन्।
गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालका अनुसार, सीमामा सुरक्षा सतर्कता उच्च बनाइएकाले अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको हो। उनले बताएअनुसार, गएको आर्थिक वर्षभरिमा १४ करोड ९९ लाख रुपैयाँ बराबरका समानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएकोमा, यो वर्ष ११ महिनामै त्यसको झन्डै दुई गुणा बढी, अर्थात् २७ करोड ५६ लाख रुपैयाँ बराबरका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सङ्कास्पद गोदाममा निगरानी र धरपकड
सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारसँग मिलेर सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै शङ्कास्पद गोदामहरूमा छापा मारिरहेको छ। यसै क्रममा जेठ १० गतेसम्मको अवधिमा मात्रै १० करोड ७१ लाख रुपैयाँभन्दा बढी मूल्यका बिल-बिजकविहीन सामग्री राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको सशस्त्र प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यो अघिल्लो वर्षको १९ करोड ३८ लाख रुपैयाँको तुलनामा अलि कम भए पनि कार्यरत सुरक्षाकर्मीको सक्रियता उल्लेखनीय रहेको बताइएको छ।
हुन्डी कारोबारमा पनि नियन्त्रण
सुरक्षाकर्मीहरूले यस आर्थिक वर्षमा १ करोड १५ लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको नगदसमेत नियन्त्रणमा लिएका छन्। अघिल्लो वर्ष यो परिमाण ७९ लाख रुपैयाँजति मात्रै थियो।
काठ तस्करीमा पनि कारबाही
सशस्त्र प्रहरीले वन तस्करीविरुद्ध पनि अभियान चलाएको छ। चालु आवमा मात्रै १ हजार ५९६ क्युफिट काठ बरामद गरिएको छ, जसको मूल्य करिब ४२ लाख रुपैयाँ पर्छ। गत वर्ष १ हजार ५५४ क्युफिट काठ बरामद भएको थियो।
एसपी धिमालका अनुसार, सीमावर्ती क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले प्रविधिमैत्री निगरानी, नियमित गस्ती र स्थानगत सूचनाका आधारमा विशेष कारबाही तीव्र बनाएको छ। यसले सीमामा हुने भन्सार छली तथा अवैध कारोबारलाई उल्लेखनीय रूपमा घटाएको छ।


