वीरगञ्ज, ३१ जेठ — वीरगञ्ज महानगरपालिका वडा नं. ५ मा रहेको नारायणी स्पोर्ट्स क्लबलाई दशकौंको अव्यवस्थित कब्जाबाट मुक्त गरिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगको उद्देश्यसहित स्थानीय जनप्रतिनिधिहरूको अगुवाइमा यो पहल गरिएको हो।
वडाध्यक्ष तथा सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदिप चौरसियाको नेतृत्वमा शनिबार क्लब कब्जामुक्त गरिएको हो। समाजसेवी, वडा सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिति र सक्रियतामा क्लबमा लगाइएको पुरानो ताल्चा खोलिएको थियो।
वडाले यसअघि क्लब सञ्चालनका लागि पटक–पटक सूचना जारी गरेपनि अटेरी गरिँदै आएको थियो। अन्ततः नगरप्रहरीको रोहबरमा ताल्चा फोडी क्लबको जिम्मेवारी वडा कार्यालयले आफ्नो मातहतमा लिएको हो।
वडाध्यक्ष चौरसियाका अनुसार अब क्लबको सम्पूर्ण कार्य व्यवस्था वडा समिति मार्फत पारदर्शी रूपमा संचालन गरिनेछ। क्लबलाई सक्रिय बनाउँदै युवा लक्षित खेलकुद गतिविधिहरू संचालन गर्ने योजना समेत रहेको उनले बताए।
स्थानीय बासिन्दाहरूले क्लबको पुनःस्थापना र सही प्रयोगप्रति सन्तोष व्यक्त गरेका छन्। वडाध्यक्ष चौरसियाले क्लबलाई अब समृद्ध र उदाहरणीय बनाउने प्रतिवद्धता समेत जनाएका छन्।


