बर्दीबास जेठ २८ स्वाधीन समृद्ध नेपाल र ओम चावहिल डेन्टल हस्पिटलको संयुक्त आयोजनामा बर्दीवास नगरपालिकामा तीन दिवसीय नि:शुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने भएको छ। दन्त स्वास्थ्यमा जनचेतना र सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविर असार २, ३ र ४ गते सम्पन्न हुने बताइएको छ।
शिविर बर्दीवास नगरपालिकाका विभिन्न वडाहरूमा चरणबद्ध रूपमा सञ्चालन गरिने छ।
कार्यक्रमको पहिलो दिन, असार २ गते, वडा नं. १, २, ३ र १४ मा दन्त उपचार सेवा प्रदान गरिनेछ।
दोस्रो दिन, असार ३ गते, वडा नं. ४, ५, १० र ११ का लागि टूटेश्वरमा शिविर आयोजना गरिनेछ।
तेस्रो तथा अन्तिम दिन, असार ४ गते, वडा नं. ६, ७, ८, ९, १२ र १३ मा पर्ने हातीलेट क्षेत्रलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरिनेछ।
स्वाधीन समृद्ध नेपालका केन्द्रीय अध्यक्ष टेकबहादुर बलम्पाकीको अध्यक्षतामा संचालन हुने यस शिविरमा बर्दीवास नगरपालिका र आसपासका सर्वसाधारणलाई लक्षित गर्दै दन्त परिक्षण, उपचार, परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका अध्यक्ष टेकबहादुर बलम्पाकीका अनुसार, “स्वास्थ्य जनताको पहिलो अधिकार हो भन्ने मान्यताका साथ यो शिविर आयोजना गरिएको हो। बर्दीवास नगरवासीलाई सहज, गुणस्तरीय र निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले हामीले यो कदम चालेका हौं।”
शिविरमा स्थानीय संघसंस्था, सामुदायिक प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहनेछ। ओम चावहिल डेन्टल हस्पिटलका दक्ष दन्त चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ भने स्थानीय स्वयंसेवकहरूमार्फत व्यवस्थापन सहयोग गरिनेछ।
शिविरमा निम्न सेवा उपलब्ध हुनेछन्:
दाँतको सामान्य परीक्षण
दन्त रोगहरूको पहिचान
आवश्यक दन्त उपचार
मौखिक स्वच्छता सम्बन्धी परामर्श
बालबालिकाका लागि विशेष दन्त जाँच र शिक्षा
यस शिविरबाट बर्दीवास नगरपालिका तथा वरपरका हजारौं नागरिक लाभान्वित हुने विश्वास लिइएको छ। आयोजकहरूले सबै नागरिकलाई शिविरको सेवा लिन उपस्थित हुन अनुरोध गरेका छन्।


