तराई–मधेशमा पछिल्लो केही दिनदेखि गर्मीको प्रकोप अत्यधिक बढेसँगै वीरगञ्जको जनजीवन अस्तव्यस्त बनेको छ। बिहानैदेखि तापक्रम चर्किँदा सडक र बजार क्षेत्रहरू सुनसान देखिन थालेका छन्। वीरगञ्जको मुख्य व्यापारिक क्षेत्रहरूमा पसल खुले पनि ग्राहकको उपस्थिति न्यून देखिन्छ।
व्यवसायीहरू दिनको समयमा कारोबार ठप्पजस्तै भएको गुनासो गर्छन्। “गर्मी यति धेरै छ कि दिउँसो एक जना ग्राहक पनि पसलमा देखिन्न,” वीरगञ्जका एक व्यापारीले भने।
गर्मीको प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ। अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउन डराउन थालेका छन्। गोल्डन फ्यूचर साकोसका प्रबन्धक दीपक चौधरीका अनुसार, “बिहानैदेखि घाम यति तिव्र हुन्छ कि बच्चालाई घरबाट स्कुलसम्म पुर्याउनु जोखिमपूर्ण भइसक्यो।”
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनहरूमा पनि गर्मी झनै बढ्ने संकेत दिएको छ। आजकै दिन धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ। मौसमविद् हरिप्रसाद दाहालले कोशी प्रदेशमा मनसुन रोकिएकाले देशभर सञ्चार हुन ढिलाइ भएको जनाए।
यद्यपि मौसमविद्हरूले केही आशा पनि देखाएका छन्। विनोद पोख्रेलका अनुसार, पर्सिदेखि देशका केही भागमा हल्का वर्षा सुरु हुने सम्भावना छ भने बिहीबारदेखि व्यापक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। वर्षा सुरु भएसँगै गर्मीको प्रभाव कम हुने अपेक्षा गरिएको छ।
हाल देशको पश्चिम तथा मध्य भूभागमा स्थानीय र पश्चिमी वायु सक्रिय छन्। कोशी प्रदेशमा मनसुनी वायुले प्रभाव जमाउँदै लगेको छ। मौसम पूर्वानुमान अनुसार कोशी र पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै कतिपय स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा पनि हुन सक्छ।
स्थानीय प्रशासनले जनतालाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। ‘बाहिर ननिस्कनुहोस्, आवश्यक परेमा छायाँमा बस्नुस् र प्रशस्त पानी पिउनुहोस्’, प्रशासनले सचेत गराएको छ।


