वीरगञ्ज, १६ — वीरगञ्ज महानगरपालिका–१६ को रजत जयन्ती चौकदेखि मितेरी पुलसम्म फैलिएको अव्यवस्थित र जोखिमयुक्त बिजुलीका तारहरू हटाउने कार्य सम्पन्न भएको छ। लामो समयदेखि सार्वजनिक स्थलमा झुण्डिरहेका ती तारहरूले सौन्दर्य बिगार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम पनि बढाइरहेका थिए।
नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नगर प्रहरी, नेपाल प्रहरी र मालीसहित १२ सदस्यीय संयुक्त टोलीको सक्रिय सहभागितामा तार हटाउने अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। अभियानका क्रममा संचार तथा विद्युत सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका तारहरू काटेर करिब ८ सय केजी तार संकलन गरिएको छ। ती तारहरू हाल महानगरपालिकाको जिम्मामा सुरक्षित रूपमा राखिएको छ।
महानगरका अनुसार यो अभियानले शहरी क्षेत्रमा सौन्दर्य थप्ने, सम्भावित आगलागी र दुर्घटनाबाट जनधनको सुरक्षा गर्ने तथा विद्युत सेवालाई अझ व्यवस्थित र भरपर्दो बनाउने लक्ष्य पूरा गरेको छ।


