पर्सा | २०८२ जेठ १६ —
बिरगञ्ज महानगरपालिका–७ स्थित कुमाल टोलमा शनिबार राति भएको सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु भएको छ।
शनिबार राति करिब ८:३५ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको लोडर गाडीले एक पैदल यात्रुलाई ठक्कर दिएको हो। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६ निवासी नारायण प्रसाद बर्णवालका २१ वर्षीय छोरा किसन बर्णवालले चलाएको मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडर गाडीले दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
दुर्घटनामा करिब २८ वर्ष जतिको देखिने तराई मूलका एक पुरुष गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तुरुन्त नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। अवस्था गम्भीर भएकाले थप उपचारका लागि परवानीपुर, बारास्थित एल.एस. न्युरो एण्ड जेनरल अस्पतालमा रेफर गरियो। तर, चिकित्सकले मिति २०८२ जेठ १३ गते राति १२:३५ बजे उनलाई मृत घोषणा गरे।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरी मृतकको शव हाल नारायणी अस्पतालको शवगृहमा राखिएको छ। तर, मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकलाई चिनेका वा चिन्न सक्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।


