जेठ १५ गतेका लागि राजसंस्थाको पुनःस्थापनाको मागसहित सडकमा आउन लागेको राजावादी समूहसँग जुध्न नेकपा एमालेले आफ्ना कार्यकर्तालाई ‘प्रभावशाली उपस्थिति’ को तयारी गर्न निर्देशन दिएको छ। सोही दिन काठमाडौँमा एमालेले आफ्नै कार्यक्रम राख्ने संकेत देखिएको छ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी प्रशिक्षण कार्यक्रमका क्रममा कार्यकर्ताहरूलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौंलाई “एमालेको उपस्थिति” मा ल्याउन आह्वान गरे। उनले सो समयमा राजधानीमा एमालेकै प्रभाव हुनुपर्ने बताएका छन्।
ओलीले प्रशिक्षणको अन्त्यसँगै कार्यकर्ताहरूलाई आन्दोलनको तयारी थाल्न सुझाव दिएका छन्। “प्रशिक्षण सकिएपछि १५ गतेको तयारी थाल्नुस्। पार्टीबाट विस्तृत निर्देशन आउँछ, तर तपाईंहरू मानसिक र भौतिक रूपमा तयार रहनुपर्छ,” ओलीको भनाइ थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ। लोकतान्त्रिक अभ्यासमा विश्वास राख्नेहरू ओलीको भनाइलाई गैर-जिम्मेवार र असंवैधानिक मानिरहेका छन्।
राप्रपा नेपाल अध्यक्ष कमल थापाले फेसबुकमार्फत ओलीको अभिव्यक्तिको विरोध गर्दै लेखेका छन्, “काठमाडौँलाई नियन्त्रणमा लिने भनाइ पदको मर्यादा र लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन हो।”
त्यस्तै, राजनीतिक विश्लेषक सञ्जीव पोखरेलले ओलीको अभिव्यक्तिलाई “राजनीतिक संस्कारविपरीत” र “लोकतन्त्र विरोधी” भनेका छन्। उनका अनुसार सत्ता चलाइरहेका नेताले संयमित भएर अभिव्यक्ति दिनु पर्ने हो, भिडन्तको शैलीमा नउत्रिनु उपयुक्त हुन्छ।
“राजावादीहरू कमजोर एजेन्डा र स्पष्ट रणनीति बिना सडकमा छन्, तर त्यो बहानामा शान्तिपूर्ण विरोधलाई दमन गर्ने योजना उचित होइन,” पोखरेल भन्छन्। उनले सत्तारूढ दलहरूले आन्दोलनलाई वैचारिक रूपमा खारेज गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
एमाले नेतृत्वले राजावादी आन्दोलनको दिन काठमाडौँलाई आफ्नो नियन्त्रणमा ल्याउने रणनीति सार्वजनिक गरेसँगै १५ जेठमा राजनीतिक रूपले तानावको अवस्था सिर्जना हुने देखिएको छ। यस्तो परिस्थितिमा सुरक्षाको जिम्मेवारी बहन गर्ने राज्य संयन्त्र थप सजग रहनुपर्ने विश्लेषकहरूको भनाइ छ।


