
कलैया, जेठ १० –
मधेश प्रदेशको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख अविन्दर दासका अनुसार, राजस्व संकलनमा देखिएको उल्लेखनीय वृद्धिको मुख्य कारण सेवा प्रवाहमा आएको सुधार र जनमैत्री प्रणाली हो।
दासका अनुसार माघ ८ गतेदेखि आफूले जिम्मेवारी सम्हालेपछि मासिक राजस्व संकलनको औसतमा करिब ६१ लाख रुपैयाँको वृद्धि भएको छ। “सेवाग्राहीले पहिलेजस्तो झन्झटिलो प्रक्रिया व्यहोर्नु नपरेको, सहज तरिकाले काम हुने गरेकोले राजस्व पनि बढेको हो,” उनले भने।
आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा कार्यालयले जम्मा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
सबैभन्दा धेरै आम्दानी सवारी चालक अनुमति पत्र (लाईसेन्स) पास शीर्षकबाट भएको छ, जसअन्तर्गत १ करोड ७९ लाख ६५ हजार रुपैयाँ उठाइएको छ। त्यसैगरी, लाईसेन्स दर्ता (नयाँ) बाट ८३ लाख ७६ हजार, पटके शीर्षकमा ३९ लाख ९२ हजार ४०, दर्ता थप बाट ३३ लाख ६२ हजार, र नवीकरण शीर्षकमा २७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
अन्य विविध शुल्क तथा सवारी सम्बन्धी सेवाबाट पनि उल्लेखनीय रकम उठेको कार्यालयले जनाएको छ।
यसअघि सवारी चालक अनुमति पत्र लिन बर्दिबास, जनकपुर वा वीरगञ्ज जानुपर्ने बाध्यता थियो। तर अहिले कलैयामै कार्यालय सञ्चालनमा आएकाले सेवाग्राहीलाई सहज भएको छ।
स्थानीय बासिन्दा रामेश्वर साह भन्छन्, “पहिले एकजना लाइसेन्स बनाउन हप्ता दिन लाग्थ्यो, अहिले त एकैदिन धेरै काम हुने भएको छ।”
मधेश प्रदेशभरि यातायात सेवा पहुँच वृद्धि गर्ने सरकारको योजनाअनुसार हाल प्रदेशका अधिकांश जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भइसकेको छ।