
चितवन — भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित जागृति चोकमा घरायसी विवादले हिंसात्मक रूप लिँदा एक छोराले आफ्नै बाबाको खुकुरी प्रहार सहनुपरेको छ।
लमजुङको बेशीसहर नगरपालिका–२ का स्थायी बासिन्दा र हाल भरतपुर–५ मा बसोबास गर्दै आएका ५९ वर्षीय नारायण अधिकारीले घरको डिजाइन सम्बन्धी विषयमा वादविवाद हुँदा ३५ वर्षीय छोरा वासु अधिकारीमाथि खुकुरी प्रहार गरेका हुन्।
घाइते वासुको टाउकोमा गम्भीर चोट लागेको र हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। उपचारको क्रममा आमा सीता अधिकारी पनि अस्पतालमै रहेको जनाइएको छ।
उक्त घटनापछि बाबु नारायण अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हाल सीतारामचोकस्थित प्रहरी चौकीमा राखिएको चितवन प्रहरी स्रोतले पुष्टि गरेको छ।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार घर निर्माण सम्बन्धी विषयलाई लिएर विवाद चुलिएपछि स्थिति हिंसात्मक बनेको बुझिएको छ।