लहान, सिरहा |
सिरहा जिल्लाको लहान नगरपालिका–३ दंग्राहा टोलमा सानोतिनो विवादले हिंसात्मक मोड लिँदा एक युवक गम्भीर घाइते भएका छन्। सामान्य मोटरसाइकल ठोक्किएको विषयलाई लिएर भएको भनाइका बीच २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो।
प्रहरीका अनुसार देवकुमारलाई जिवछ महतोको परिवारका सदस्यहरूले सामूहिक रूपमा कुटपिट गरेका थिए। त्यसक्रममा खुकुरी प्रहार समेत भएको पुष्टि भएको छ। पीडितको टाउको, घाँटी र ढाडमा चोट लागेको र अहिले उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए। हाल उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
घटनापछि प्रहरीको सक्रियतामा ६२ वर्षीय जिवछ महतो, उनकी ६० वर्षीया श्रीमती सीतादेवी महतो र २१ वर्षीय छोरा मनिष महतोलाई नियन्त्रणमा लिइएको छ। तर घटनामा संलग्न भनिएका जिवछका अर्का छोरा १९ वर्षीय मुकेश महतो भने फरार रहेका छन्। घटनास्थलमा खिचिएको एक भिडियोमा मुकेशले हातमा खुकुरी लिएर पटकपटक देवकुमारमाथि प्रहार गरिरहेको दृश्य देखिएको प्रहरीले जनाएको छ।
उक्त घटना बुधबार भए पनि ढिलो सार्वजनिक भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकलले छोएको निहुँमा विवाद चर्किएको र त्यसले हिंसात्मक रुप लिएको देखिएको छ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता गराएका छन्। पक्राउ परेका तीनजनालाई प्रहरीले हिरासतमा राखेको छ भने फरार अभियुक्तको खोजी जारी रहेको बताइएको छ।
सामान्य विवाद पनि आपराधिक मोड लिन सक्ने भन्दै प्रहरीले संयमित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


