१९ वैशाख, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युप्रति विरोध जनाउँदै पद्मकन्या कलेजका विद्यार्थीहरु आज बिहान सडकमा उत्रिएका छन्।
स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीहरुले कालो मास्क लगाएर “विद्यार्थी छोरीको न्याय सुनिश्चित गर”, “We Want Justice” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्।
स्ववियु सभापति भूपी ऐरले घटनाले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई स्तब्ध बनाएको बताउँदै सरकारलाई छिटो छानबिन र कूटनीतिक पहल गर्न दबाब दिन यो प्रदर्शन गरिएको बताइन्।
प्रिशा साह, वीरगञ्जकी बासिन्दा, विहीबार राति ओडिसास्थित होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। हाल शव पोष्टमार्टमको प्रक्रिया अगाडि बढाइएको छ। उनका परिवारका सदस्यहरु भारत पुगिसकेका छन् र शव परीक्षण पछि मात्र अन्तिम निर्णय लिइने बताइएको छ।
यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनाले आफूलाई मर्माहत बनाएको प्रतिक्रिया दिँदै छानबिनका लागि भारतसँग कूटनीतिक समन्वय थालिएको जानकारी दिएकी छन्। मन्त्री देउवाले पीडित पक्षलाई न्याय दिलाउन नेपाल सरकार गम्भीर रहेको उल्लेख गरिन्।
प्रिशाको मृत्युलाई लिएर उठेका प्रश्नहरू अब छानबिनको क्रममा पुष्टि वा खण्डन हुनेछन् भने विद्यार्थीहरुले दोषीको पहिचान र कडा कारबाहीको मागलाई बल दिइरहेका छन्।


