१७ वैशाख, मुस्ताङ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा हिउँ चितुवाले रातको समयमा आक्रमण गरी दुई स्थानीय किसानका आठ च्याङ्ग्रा मारेपछि गाउँमा त्रास फैलिएको छ।
स्थानीय च्याङ्ग्रा पालक किसान ङातर गुरुङको खोरमा मध्यरातमा पसेको हिउँ चितुवाले चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा मारेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। गुरुङका अनुसार ढुङ्गा र माटोले बनेको परम्परागत गोठमा पसेर चितुवाले क्षति पुर्याएको हो। गुरुङ परिवारलाई करिब २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
यस्तै, अर्का पशुपालक पेम्मा गुरुङका पनि माउ र पाठासहित तीन च्याङ्ग्रा मरेका छन्। हिउँ चितुवा गोठको छतमाथि चढेर भित्र पस्दै ५२ च्याङ्ग्रामध्ये तीन मारेको पेम्बाले बताए। थप एक पाठो घाइते भएको र कुल नोक्सानी ६५ हजार रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए।
घटनापछि वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का प्रतिनिधि तथा प्रहरी चौकी कागबेनीबाट आएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले क्षतिको मूल्याङ्कन गर्दै घटनास्थलको विवरणसहितको मुचुल्का तयार पारेको छ।
ACAP का कार्यक्रम व्यवस्थापक तथा हिउँ चितुवा विज्ञ डा. मधु क्षेत्रीले पनि घटनास्थलको अवलोकन गरेका छन्। उनले आहाराको अभावका कारण हिउँ चितुवा बस्ती नजिक आउन थालेको भन्दै गोठ सुधार र चरनक्षेत्र व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताए।
गाउँपालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहाराका स्रोत उच्चलेकबाट सरेको भन्दै मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकोमा चिन्ता व्यक्त गरे। पशुधनको रक्षा गर्न भरपर्दो पूर्वाधार निर्माणका लागि अनुदान कार्यक्रम ल्याउन आवश्यक रहेको उनको सुझाव छ।


