बारा, बैशाख १४ – नेशनल मोडेल एकेडेमी, प्रसौनी गाउँपालिका वडा नं. ०३, वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यालयको रूपमा प्रशंसा प्राप्त भएको छ। प्रसौनी गाउँपालिकाका प्रमुख बिनोद प्रसाद जयसवालले विद्यालयको उच्च शैक्षिक स्तर र समुदायमा पुर्याइरहेको योगदानको प्रशंसा गर्दै, संस्थागत विद्यालयको क्षेत्रका रूपमा नेशनल मोडेल एकेडेमीलाई उत्कृष्ट विद्यालयको दर्जा दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै, गा.पा प्रमुख जयसवालले अभिभावकहरूलाई बालबालिकाको शिक्षा र स्वास्थ्यमा सँगै ध्यान पुर्याउन आग्रह गरे। उनले विद्यालय परिवारको निरन्तर प्रयास र योगदानलाई समेत उच्च मूल्याङ्कन गरे।
विद्यालयको वार्षिक उत्सव कार्यक्रम एक सांस्कृतिक कार्यक्रम र स्वास्थ्य परीक्षण शिबिरको रुपमा आयोजना गरिएको थियो। यस अवसरमा कमला डेण्टल क्लिनिकका संचालक डा. राहुल गुप्ता, किरण आँखा अस्पतालकी अप्टोमेट्रिस्ट सम्झना चौधरी लगायत बिभिन्न अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरे।
सहकार्यमा, किरण आँखा अस्पताल र कमला डेन्टल क्लिनिकले आँखाको र दन्त परीक्षण शिबिर सञ्चालन गरेका थिए। उक्त शिबिरमा करिब ७ सय विद्यार्थी र स्थानीय अभिभावकहरू सहभागी भएका थिए। यसै क्रममा, विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसँग कार्यक्रमलाई थप रोचक बनाएका थिए।
कार्यक्रममा, उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई तीन महिनाको छात्रवृत्ति र कक्षामा प्रथम भएका विद्यार्थीलाई पुस्तक पुरस्कार स्वरूप पुरस्कार प्रदान गरिएको थियो। दोस्रो र तेस्रो भएका विद्यार्थीलाई स्टेशनरी सामग्री पुरस्कार स्वरूप दिइएको थियो। विद्यालयका प्र.अ. अजित कुमार साहका अनुसार, कार्यक्रम विद्यालयका निर्देशक विश्वनाथ साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो।


