बारा, ८ असार ।
बाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

सोमबार आयोजित परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँसभाको उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस वर्ष गाउँपालिकाले शिक्षा, पूर्वाधार विकास, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ।
नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू:
- अधुरा योजनाको पूर्णता: गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्यलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।
- कर र भूमि प्रशासन: नागरिकको सहजताका लागि कर सेवा र भूमि प्रशासनसम्बन्धी सेवाहरू गाउँपालिकाबाटै उपलब्ध गराइनेछ।
- नदी नियन्त्रण: वडा नम्बर १ मा रहेको नदी नियन्त्रणको कार्यलाई प्राथमिकताका साथ सम्पन्न गरिनेछ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बजेट र नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
”गाउँपालिकाको समग्र विकास, सुशासन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर यो बजेट ल्याइएको हो। यसको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच आपसी सहकार्य अपरिहार्य छ,” अध्यक्ष कुर्मीले भन्नुभयो।
अध्यक्ष कुर्मीकै अध्यक्षतामा सम्पन्न सो गाउँसभामा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारी वर्ग तथा नेकपा एमालेका नेता उमेश गुप्ता लगायत स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


