पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको दाबी गरेका छन्। बुधबार पाकिस्तानको गुप्तचर निकायबाट यस्तो जानकारी आएको उनले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन्।
“भारतले हालैको पहलगाम घटनालाई बहाना बनाएर पाकिस्तानमाथि हमला गर्ने योजना बनाइरहेको छ,” तरारले भने, “भारतको कुनै पनि आक्रामक कदमको निर्णायक प्रतिकार हुनेछ, र त्यसको सम्पूर्ण जिम्मेवारी भारतले नै लिनुपर्नेछ।”
यो दाबी भारतको कश्मीर क्षेत्रको पर्यटकीय स्थलमा भएको आतंकवादी हमलापछि आएको हो, जसमा कम्तीमा २६ जनाको ज्यान गएको थियो। भारतले सो घटनाको दोष पाकिस्तानलाई दिएको छ, जसपछि दुई देशबीच तनाव चुलिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त घटनापछि भारतले पाकिस्तानसँगको बहुपक्षीय सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ भने पाकिस्तानले आफ्ना हवाई सीमाबाट भारतीय एयरलाइन्सहरूलाई निषेध गरिसकेको छ। भारतको परराष्ट्र मन्त्रालयले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
यसबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले रोयटर्सलाई दिएको अन्तर्वार्तामा भारतको सम्भावित हमला चाँडै हुने प्रस्ट संकेत दिएका छन्। “यदि भारतको आक्रमणले पाकिस्तानको अस्तित्वलाई खतरा पुर्याउने अवस्था आयो भने हामी परमाणु हतियार प्रयोग गर्न बाध्य हुनेछौं,” उनले इस्लामाबादस्थित आफ्नै कार्यालयमा भनेका छन्।
भारत र पाकिस्तानबीच लामो समयदेखि कश्मीरलाई लिएर विवाद रहँदै आएको छ। दुवै देशले कश्मीरको पूरै क्षेत्र आफ्नो दाबी गर्दछन्, तर अहिले उनीहरूले आ–आफ्नो नियन्त्रणमा केही–केही भाग मात्रै राखेका छन्। यस विषयमा विगतमा थुप्रैपटक दुबै देशबीच युद्धसमेत भइसकेको छ।
दक्षिण एशियामा दुई परमाणु शक्ति राष्ट्रबीच यस्ता तनावपूर्ण परिस्थितिले अन्तर्राष्ट्रिय समुदायलाइ गम्भीर चिन्तित बनाएको छ। यदि सैन्य झडप चुलियो भने त्यसको असर सम्पूर्ण क्षेत्रमा पर्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्।


