बिरगञ्ज । बिरगञ्जको होटल क्लासिक ब्यान्क्वेटमा आइतबार हिन्दू पत्रकार संघ नेपाल औपचारिक रूपमा अस्तित्वमा आएको छ। संघको घोषणा सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
घोषणा कार्यक्रममा वरिष्ठ पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि तिवारीले पत्रकारिता समाजलाई मार्गदर्शन गर्ने ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र उत्तरदायी पत्रकारिताको अभ्यासमा नयाँ संघले सकारात्मक योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमकै अवसरमा संघको कार्यसमिति पनि सार्वजनिक गरिएको छ। सार्वजनिक सूचीअनुसार अध्यक्षमा राजन रौनियार चयन हुनुभएको छ भने उपाध्यक्षमा विनोद पटेल, महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले हिन्दू पत्रकार संघ नेपालले पत्रकारहरूको पेशागत हकहित संरक्षण, सामाजिक सद्भाव प्रवर्द्धन तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।


