असार १ — सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा एक किशोरीको रातको समयमा गोली प्रहार गरी हत्या गरिएको छ। हरिनगर–६ स्थित घुस्की टोलमा आइतबार राति करिब १ बजे १८ वर्षीया अर्सी खातुनको गोली लागी घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले अर्सीमाथि गोली प्रहार गर्ने व्यक्ति उनका भिनाजु रहेको देखिएको छ। भारतको बिहार राज्यको पत्राहा पञ्चायत (१६ घुर्ना) निवासी २९ वर्षीय आजाद मिया जटले खातुनको टाउकोमा गोली प्रहार गरेको सूचनामा प्रहरी पुगेको सुनसरीका प्रहरी प्रमुख, एसपी सुमनकुमार तिम्सिनाले बताए।
घटनापछि जट फरार भएका छन्। घटनास्थलमा गोलीको एउटा खोका फेला परेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
“घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको छ,” एसपी तिम्सिनाले भने, “आरोपितको खोजी तीव्र पारिएको छ।”
हत्या किन गरिएको हो भन्ने विषयमा स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ। गाउँमा यो घटना पछि स्थानीयमा भय र त्रासको वातावरण छाएको छ।


