प्युठानमा दुई दिनअघि फेला परेको डष्टबिनभित्रको मृत नवजात शिशुको रहस्यले गहिरो मोड लिएको छ। अनुसन्धानको क्रममा प्रहरीले यो घटना १७ वर्षीया एक किशोरीसम्म पुर्यायो, जो अर्घाखाँची शितगंगा घर भएकी र स्थानीय स्कुलमा कक्षा ९ मा अध्ययनरत थिइन्।

घटनाको प्रारम्भिक अनुसन्धानमा ती किशोरी सर्वसाधारणझैं घटनास्थलमा उपस्थित भएकी थिइन्। प्रहरीको प्रारम्भिक सोधपुछमा कुनै जानकारी नआएपछि थप अनुसन्धान गर्न लागियो। दोस्रो दिन ती किशोरीलाई प्रहरीले सम्पर्क गरी पुन: बयान लिने क्रममा उनको स्वास्थ्य परीक्षण गर्दा ती किशोरीले नवजात शिशु जन्माएको पुष्टि भयो। सत्य बाहिर आएपछि उनले डाको छोडेर रोएकी थिइन्।
ती किशोरीको प्रेम सम्बन्ध सोही स्कुलको कक्षा १२ मा अध्ययनरत एक किशोरसँग रहेको खुलेको छ। उनीहरूको लामो प्रेम सम्बन्धको परिणामस्वरूप ती किशोरी गर्भवती भएकी रहिछन्। गर्भवती हुँदा आफू मोटाएको महसुस भए पनि उनले यो कुरा गम्भीरतापूर्वक लिएकी थिइनन्। मङ्सिर महिनामा मात्रै आफू गर्भवती भएको थाहा पाएपछि प्रेमीलाई खबर गर्दा उनले यो कुरा मजाकमा उडाएको ती किशोरीले बताइन्।
चिसो मौसममा मोटा लुगा लगाएर स्कुल जाने भएकाले गर्भवती रहेको कुरा कसैले थाहा पाएन। केही दिनअघि रातिको समयमा उनले छोरालाई जन्म दिइन्। शिशु जन्मिएपछि उनले प्रेमीलाई फोन गरी आफ्नो छोरालाई लैजान आग्रह गरिन्। तर, प्रेमीले फोन काटेर मोबाइल अफ गरे।
शिशु रुन थालेपछि छिमेकीहरूले थाहा पाउने डरमा उनले शिशुको मुख छोपेर चिसो सिमेन्टको भुइँमा राखेको बताइन्। शिशु मृत भएपछि उनले एक दिन कोठामै राखिन् र अर्को दिन १५ मिनेट टाढाको बजारमा रहेको डष्टबिनमा फालेकी थिइन्।
ती किशोरीको बुबा नभएको र आमा रोजगारीका लागि दुबईमा रहेको जानकारी आएको छ। अहिले प्रेमी र ती किशोरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
#AsianNewsNetworks #ANNNews


