सिरहा जिल्लाको नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको बलात्कार प्रयास र पछि आत्महत्या घटनालाई लिएर नयाँ खुलासा भएको छ। मृतकका परिवारजनले अनुसन्धानका क्रममा खबर संकलन गर्न पुगेका एक पत्रकारले पैसा मागेको गम्भीर आरोप लगाएका छन्।
चार महिनाअघि बलात्कार प्रयासबाट बच्न सफल भएकी आनन्दीदेवी सदायको माइती पक्षका अनुसार, एक पत्रकारले “घटनालाई उजागर गरी मुद्दा अघि बढाइदिन्छु” भन्दै उनीहरूबाट दुई हजार रुपैयाँ लिएका थिए। अझै थप २५ हजार रुपैयाँ मागेको समेत आरोप लगाइएको छ।
बिलटौन देवी सदायले पत्रकारको नाम त खुलाउन सकिनन्, तर उचाइमा होचो र गोरा वर्णको भएको विवरण दिएकी छन्। उनका अनुसार पत्रकारले प्रहरी प्रशासनमा दबाब दिन सक्ने भन्दै ठूलो रकम मागेका थिए। “हाम्रो अवस्था दयनीय छ, घर चलाउने हालत छैन, पत्रकारले उल्टै पैसा मागेपछि हामी थप पीडित भयौं,” उनले भनिन्।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीका एसएसपी पुग्दा पीडित पक्षले उक्त कुरा प्रहरी समक्ष राखेका थिए। पत्रकारको यो गतिविधिले घटना झनै पिडादायी बनेको परिवारजनको भनाइ छ। उनीहरूले पत्रकार पुनः घर आएमा पहिचान गर्न सक्ने बताएका छन्।
गत पुस ९ गते बिहान करिब ११ बजे आनन्दीदेवी सदायमाथि नवराजपुर गाउँपालिका–३, जगतपुरस्थित आँपको बगैंचामा स्थानीय संजिवकुमार यादव (२२) र श्यामसुन्दर यादव (३२) ले बलात्कार प्रयास गरेका थिए। घटना प्रहरीमा दर्ता भए पनि उचित न्याय नपाएको भन्दै निराश बनेकी आनन्दीदेवीले माइतीघरमै झुण्डिएको अवस्थामा ज्यान दिएकी थिइन्।
सामाजिक न्यायका लागि आवाज उठाइरहँदा पत्रकार स्वयंमले पैसा मागेको आरोपले घटनामा नयाँ बहस सुरु भएको छ। यसबारेमा सम्बन्धित निकायबाट छानबिन र आवश्यक कारबाहीको माग उठ्न थालेको छ।


