गोलबजार, सिरहा — सिरहाको गोलबजार नगरपालिका–७ स्थित एक निजी विद्यालयमा शिक्षकले कक्षाकोठामै विद्यार्थीमाथि अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ। एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले शुक्रबार ८ कक्षामा अध्ययनरत १३ वर्षीय अभिनाश यादवलाई “पढाइमा कमजोरी” देखिएको भन्दै निर्मम रूपमा कुटपिट गरेका हुन्।
पीडित बालक नरहा गाउँपालिका–३ खोरियाका सुरेश यादवका छोरा हुन्। घटनापछि उनलाई गम्भीर चोट लागेपछि गोलबजारकै एक निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अभिभावक सुरेश यादवले शिक्षक गुप्ताले छोरालाई ढाड, तिघ्रा र अनुहारमा निलडाम पार्ने गरी पिटेको बताएका छन्।
“पढ्न नसकेको निहुँमा यस्तो हदसम्मको हिंसा हुनु अकल्पनीय हो,” पीडित बालकका बुवाले दुखेसो पोख्दै भने, “विद्यालय सुरक्षित ठाउँ हुनुपर्ने हो, यस्ता घटनाले अभिभावकमा गम्भीर चिन्ता पैदा गराउँछ।”
घटनापछि पीडित परिवारले इलाका प्रहरी कार्यालय, गोलबजारमा उजुरी दिएका छन्। त्यसपछि प्रहरीले शिक्षक सन्तोष गुप्तालाई पक्राउ गरेको र घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर गोविन्द साहले जानकारी दिए।
विद्यालयका सञ्चालक विजय महतोसँग सम्पर्क गर्न खोज्दा उनी प्रतिक्रिया दिन इच्छुक नरहेको जनाइएको छ।


