वीरगञ्ज, असार २२ – वीरगञ्ज महानगरपालिका–२ मा अवस्थित श्रीताराचन्द किसनलाल माध्यमिक विद्यालयका शैक्षिक यात्रामा लागिपरेका गरिब तथा मेधावी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित स्कुल झोला प्रदान गरिएको छ।
उक्त सहयोग कार्यक्रम वडा नं. २ का अध्यक्ष मोहम्मद रेयाज मियाको अगुवाइमा सम्पन्न भएको हो। अध्यक्ष मियाले विद्यार्थीहरूलाई स्कुल ब्यागसँगै कापी, कलम तथा खेलकुद सामग्रीसमेत वितरण गरे।
आफू पनि यही विद्यालयबाट अध्ययन गरेर अगाडि बढेको स्मरण गर्दै अध्यक्ष मियाले भने, “यो विद्यालय मेरो सुरुवातको आधार हो, त्यसैले म यहाँको समृद्धिका लागि जहिले पनि प्रतिबद्ध छु। आगामी दिनमा पनि मेरो तर्फबाट सहयोग जारी रहनेछ।”
कार्यक्रमको दौरान विद्यालयका प्रधानाध्यापकले अध्यक्ष मियालाई सम्मान स्वरूप गम्छा ओढाएर स्वागत गरेका थिए।
कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, समाजसेवी अब्दुल लतिफ मिया अंसारी, विद्यालयका शिक्षक-शिक्षिका, सामुदायिक प्रहरी तथा अभिभावकहरूको सक्रिय उपस्थिति रहेको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको झनै रुचि र आत्मबल बढाउने विश्वास आयोजकले लिएका छन्। यस्ता पहलहरूले शिक्षा क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ।


