पोखरा — लामो समयदेखि प्रदेश सरकारका नीति तथा कार्यक्रम तथा बजेटमा प्राथमिकतामा पर्दै आएको गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण अन्ततः सात वर्षपछि सार्थक हुन थालेको छ। पोखरा–३, नदीपुरस्थित अहिलेको कार्यालय भवनको पछाडि सात रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण गरिने भएको छ।
यस निर्माणका लागि सरकारद्वारा चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ छुट्याइएको छ भने कुल लागत २५ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय कास्कीले श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभी, नयाँ बानेश्वर, काठमाडौंसँग माघ १८ गते सम्झौता गरिसकेको छ। सम्झौताअनुसार करसमेत जोडेर कुल लागत २५ करोड ३७ लाख ८२ हजार ८६० रुपैयाँ हुनेछ। निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने शर्त रहेको छ, जसअनुसार २०८४ साल माघ १८ भित्र काम सक्नुपर्नेछ।
निर्माण कम्पनीले गत सातादेखि स्थल सफाइको काम सुरु गरिसकेको छ। अहिलेसम्म कम्पनीले दुई करोड २१ लाख ९० हजार रुपैयाँ अग्रिम रकमस्वरूप लिइसकेको बताइएको छ। एक थान अस्थायी टहरा भत्काएपछि औपचारिक रूपमा शिलान्यास कार्यक्रम आयोजना गरिने तयारी भइरहेको छ।
नयाँ भवन तीनतले हुनेछ। पहिलो तलामा मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता र संसद् सचिवालय प्रमुखका लागि कार्यालय कक्ष निर्माण हुनेछ। साथै, पाँच वटा संसदीय दलहरूका छुट्टाछुट्टै बैठक कोठा पनि रहनेछ। दोस्रो तलामा संसद् बैठक हल निर्माण गरिनेछ, जहाँ ७८ सांसदहरू बस्न सक्ने व्यवस्था हुनेछ। सोही तलामा भिडियो कन्फेरेन्स र टिभी स्टुडियो, लाइब्रेरी, पिजन होल, भीआईपी तथा साधारण कक्षहरू पनि रहनेछन्।
तेस्रो तलामा ८० जना अटाउने दर्शकदीर्घा, बहुउद्देश्यीय कक्ष, भण्डारण कोठा र बाल्कनी बनाइनेछ। यद्यपि तेस्रो तलामा थप के–के बनाइने भन्ने विषयमा अझै अन्तिम निर्णय हुन बाँकी छ। भवनमा दुईवटा लिफ्ट जडान गरिनेछ भने बाहिरी परिसरमा पार्किङ र भोजनालय समेत निर्माण गरिने योजना रहेको छ।
प्रदेशसभा भवनको निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेश सरकार र संसद् गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।


