काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीका ठगहरूलाई अब कुनै पनि हालतमा उन्मुक्ति नदिइने चेतावनी दिएका छन्। सहकारीमार्फत रकम अपचलन गरी सर्वसाधारणलाई ठगी गर्नेहरूको विरुद्धमा सरकारले कठोर कदम चालिरहेको उनले बताएका छन्।
मन्त्री गुप्ताले सहकारी पीडितहरूलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको र ठूला आर्थिक अनियमिततामा संलग्न दोषीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अब कसैले पनि कानूनको आँखाबाट भाग्न सक्ने स्थिति छैन। उनले ठगी गर्नेहरूको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोजिएकोमा चिन्ता व्यक्त गरे।
गुप्ताले भने, “विगतमा धेरै ठगहरू कारबाहीको दायरामा परिसकेका छन्, र सहकारी क्षेत्रमा ठगीका घटना उठ्न थालेपछि सरकारले थप चनाखो भएर काम गरिरहेको छ। अहिले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यसको विरोध गर्दै आन्दोलन गरिरहेको छ।”
उनले फरक धारको रूपमा उदाएको पार्टीले सुशासनको पक्षमा भएको सरकारी कामलाई अवरोध पुर्याउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताए। गुप्ताले एमाले र कांग्रेसका नेताहरूको विगतमा भएको कारबाहीमा ती पार्टीहरूले कुनै विरोध नगरेको स्मरण गराउँदै, रास्वपाको आन्दोलनले दलहरूको सुशासनप्रति असहयोग देखिएको टिप्पणी गरे।
मन्त्री गुप्ताले सरकार कुनै पनि दबाबमा नआउने र दोषीमाथि कारबाही गर्नबाट पछि नहट्ने स्पष्ट पारे।


