वीरगञ्ज, ९ चैत
समृद्धि नेपाल फाउण्डेसनको चौंथो अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार वीरगञ्ज पब्लिक कलेजमा आयोजित कार्यक्रममा सुरज कुमार सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
उपाध्यक्षमा मोहम्मद ताहिर अहमद, सचिवमा हरिओम गुप्ता, सहसचिवमा श्रृति साह, कोषाध्यक्षमा पीयुष साह कानु, तथा सदस्य संयोजकमा भोला कहर चयन भएका छन्। त्यस्तै, व्यवस्थापन संयोजकमा सूर्या सर्राफ, कार्यक्रम संयोजक आयुष गुप्ता, सह-कार्यक्रम संयोजकमा रितु कर्ण चयन भएका छन् भने अन्य सदस्यहरू पछि मनोनयन गरिने बताइएको छ।
फाउण्डेसन अन्तर्गत अनुराग योजनामा दुई नयाँ विभागको गठन गरिएको छ। स्वास्थ्य विभाग प्रमुखमा नेशनल मेडिकल कलेजका विद्यार्थी आदित्य राज साह चयन भएका छन् भने खेलकुद विभाग प्रमुख अध्यक्षको सिफारिसमा चयन गरिने बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि युवा अभियन्ता दिलिपराज कार्कीले उद्घाटन गर्दै समृद्धि नेपाल फाउण्डेसनले समाजमा सकारात्मक परिवर्तनका लागि उल्लेखनीय कार्य गर्दै आइरहेको उल्लेख गरे। उनले सामाजिक विकृति तथा विसंगति हटाउने अभियान सञ्चालन गर्न आग्रह गर्दै वीरगञ्जको लोकसंस्कृति प्रवर्द्धनका लागि युवालाई जागरुक बनाउने सुझाव दिए।
फाउण्डेसनका संस्थापक अध्यक्ष आयुष कुमार गुप्ताले संस्थाले युवालाई स्टार्टअप लगायतका कार्यमा सहयोग पुर्याउँदै आएको बताए। नव-निर्वाचित अध्यक्ष सुरज कुमार सर्राफले सबैसँग सहकार्य गर्दै युवालाई सामाजिक सेवामा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।
सचिव हरिओम गुप्ताले सदस्यहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्दै नवप्रवर्तनकारी सोचलाई प्रवर्द्धन गर्न स्टार्टअप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
सोही अवसरमा प्रिया मिश्रालाई “समृद्ध नेपाल साहित्य पुरस्कार” द्वारा सम्मानित गरिएको थियो भने “मेम्बर अफ दी इयर” को उपाधि पियुष साह कानुले प्राप्त गरे। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, मानव सेवा आश्रमका प्रतिनिधि देवेश प्रसाद लगायतको उपस्थिति रहेको थियो।


