रवि भुजेल २९ पुष २०८१ काठमाडौं ।

विपक्षी चार दलले समेटेको समाजवादी मोर्चाको कार्यदलको बैठक मङ्गलबार बस्ने तय भएको छ। प्रधानमन्त्री प्रचण्डले पद त्याग गरेपछि निष्क्रिय बनेको मोर्चाले बुधवार बैठक बस्ने निश्चित गरेपछि कार्यदलको भोलि बैठक बस्न लागेको हो। कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार बैठक दिउँसो ३ बजे सुरु हुनेछ।

साउन १ गते माओवादी केन्द्रको पेरिसडाँडा स्थित कार्यालयमा बसेको बैठकले मोर्चाको गतिविधिको समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो। तर, माओवादीको बेवास्ताका कारण बैठक बस्न सकेको थिएन। हालसम्म पनि प्रतिवेदन पूरा भइनसकेको श्रेष्ठले जानकारी दिए।

६ महिनापछि बस्न लागेको मोर्चाको बैठकले विगतका गतिविधिहरूको समीक्षा गर्दै सरकार विरोधी कार्यक्रमबारे छलफल गर्ने योजना छ। श्रेष्ठले भने, ‘पहिला २ गते बैठक बस्ने भनिएको थियो। तर, विप्लवजी बाहिर भएकाले ७ गते बस्ने भनियो। फेरि माघ २ गते नै बैठक बस्ने निर्णय गरिएको छ। कार्यदलको बैठकले तयार पारेको प्रतिवेदन मोर्चाको बैठकमा प्रस्तुत गरिनेछ।’
कार्यदलमा श्रेष्ठसहित माओवादीका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेका छन्। आलोपालो प्रणालीअनुसार हाल मोर्चाको नेतृत्व विप्लवले गरिरहेका छन्।


