वीरगञ्ज, १६ पुस ।
श्रीराम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसर पारेर माइस्थान मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। धार्मिक स्थलको स्वच्छता र संरक्षणलाई लक्ष्य गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा सुरक्षा निकाय र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक प्रहरी मिनीबजार, सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा तथा स्थानीय सनातनी समुदायको संयुक्त पहलमा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सरसफाइ गरिएको हो। अभियानका क्रममा मन्दिर परिसर र वरपरका क्षेत्रबाट फोहोर संकलन गरी सफा बनाइएको थियो।
कार्यक्रममा सहभागी सुरक्षाकर्मी तथा स्थानीयवासीहरूले धार्मिक स्थलको स्वच्छता केवल एक दिनको काम नभई निरन्तर ध्यान दिनुपर्ने विषय भएको बताए। आयोजक पक्षले धार्मिक तथा ऐतिहासिक धरोहरको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले आपसी सहकार्य, सामाजिक सद्भाव र सकारात्मक सोचलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
यस पुण्य तथा सामाजिक कार्यमा सहयोग पुर्याउने सबै निकाय, स्वयंसेवक तथा स्थानीयवासीप्रति आयोजकले धन्यवाद ज्ञापन गरेका छन्।


