वीरगञ्ज, पर्सा । नारायणी अस्पताल परिसरमा समाचार संकलन गरिरहेका दिशानिर्देश डटकमका पत्रकार आविद हुसैनमाथि चिकित्सककै संलग्नतामा भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गहिरो आपत्ति जनाएको छ।
महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारले आम नागरिकलाई सूचना प्रवाह गर्ने जिम्मेवारी निर्वाह गरिरहँदा चिकित्सकहरूको प्रत्यक्ष संलग्नतामा मोबाइल खोसिएको र भिडियो सामग्री जबरजस्ती मेटाइएको घटनालाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विपरीतको कार्य भनेको छ।
महासंघका पदाधिकारीहरूका अनुसार पछिल्लो समय पत्रकारहरूमाथि बढ्दो दवाव, धम्की र आक्रमणका घटनाले सम्पूर्ण पत्रकार जगतलाई त्रसित तुल्याएको छ। यस्ता घटनाले स्वतन्त्र पत्रकारिता र नागरिकको सूचना अधिकारसमेत खतरामा परेको जनाइएको छ।
महासंघले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै दोषी चिकित्सकहरूलाई कानुनी दायरामा ल्याउन स्वास्थ्य संस्थान र सुरक्षा निकायहरूलाई आग्रह गरेको छ। साथै, यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नका लागि सम्पूर्ण सरोकारवाला निकायलाई पत्रकार सुरक्षामा विशेष ध्यान दिनसमेत महासंघले अनुरोध गरेको छ।
पत्रकारमाथिको आक्रमणलाई लोकतन्त्रविरुद्धको चुनौतीका रूपमा लिँदै महासंघले सञ्चारकर्मीको मर्यादा र अधिकारको संरक्षण गर्न सरकार तथा प्रशासनलाई कडाइका साथ सचेत गराएको छ।


