यस सर्वेक्षणको उद्देश्य महानगरपालिकाभित्रको भूमि विवरण, घरहरूको डिजिटल नम्बरीकरण, कर प्रणालीको सुधार, र अन्य क्षेत्रमा सुधार ल्याउनु हो। यो महत्त्वपूर्ण कार्य शुक्रबारबाट सुरु भएको छ।

महानगर प्रमुख राजेशमान सिंहले भने अनुसार भू–तथ्यांक व्यवस्थापनको लागि वीरगञ्जका ३२ वडामा ड्रोनमार्फत सर्वेक्षण कार्य सुरु गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा रहेको शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलनको सुरुवात गरिएको थियो।
बढ्दो सहरीकरण र जनघनत्वको साथसाथै, वीरगञ्जमा भू–तथ्यांकको अभावले उपयोग नीतिहरूको कार्यान्वयनमा समस्या हुँदै आएको थियो। महानगर प्रमुख सिंहले भने अनुसार यो नयाँ प्रणालीले महानगरलाई व्यवस्थित र स्मार्ट सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
भू–तथ्यांक व्यवस्थापनपछि वैज्ञानिक ठेगाना प्रणाली लागू हुने, तथ्यांकमा आधारित नीति अपनाउन सहज हुने, र कर प्रणालीमा सुधार ल्याई कर संकलनमा वृद्धि हुने सिंहले जानकारी दिनुभयो।
यो परियोजना युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत सुरु भएको हो। महानगरपालिकाको सबै ३२ वडाको भू–तथ्यांक संकलनको लागि नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजदेखि ड्रोन प्रयोग भइरहेको छ।
सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ कि यो तथ्यांक संकलन कार्यलाई पूरा गर्न १० दिन लाग्नेछ र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्नेछ।



