वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल, नेपालले भारत–नेपाल सीमा नजिकैका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको गस्ती तथा निगरानी कार्यका क्रममा करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानहरू नियन्त्रणमा लिएको छ।
प्राप्त विवरण अनुसार, वीरगञ्ज महानगरपालिका अन्तर्गत भारतबाट चोरी पैठारी तथा नेपालबाट अवैध निकासी भइरहेको अवस्थामा ८ लाख ३७ हजार १२० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरिएको हो। यस क्रममा दुईवटा मोटरसाइकलसहित किराना सामग्री, तयारी कपडा, मोबाइल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा लगायतका वस्तुहरू बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरी सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
यी सामानहरू सशस्त्र प्रहरी बल, नेपालबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।
त्यस्तै, आजकै दिन सशस्त्र प्रहरी बलको अलौस्थित टोलीले अलौ तथा कोनिया क्षेत्रबाट १ लाख १८ हजार २ सय रुपैयाँ बराबरका अवैध वस्तुहरू नियन्त्रणमा लिएको छ। सोही क्रममा वि.ओ.पी. प्रसौनिभाठा र वि.ओ.पी. सिर्सिया टोलीले पनि १ लाख २८ हजार ८७० रुपैयाँ मूल्यका सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका छन्।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणमा ल्याउन नियमित निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।


