वीरगंज, पर्सा – वीरगंजमा पहिलोपटक जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। घण्टाघरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सुरक्षा निकायका सदस्यहरू, सञ्चारकर्मी, कर्मचारी तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सहिदहरूले बलिदान दिएर देखाएको मार्गमा हिँड्न सबै नागरिक, सरकारी कर्मचारी तथा राजनीतिज्ञहरू इमान्दार बन्नु आवश्यक रहेको बताए। उनले सहिदहरूको सपना अझै अधुरो रहेको उल्लेख गर्दै, राज्य सञ्चालन गर्ने नेतृत्व वर्गको ईमान्दारीताको अभावले अपेक्षित परिवर्तन आउन नसकेको धारणा व्यक्त गरे।
“यदि हामी सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न सक्यौं भने मात्र सहिदहरूको बलिदानको कर्जा केही हदसम्म तिर्न सक्नेछौं। आज हामी सबैले सहिद स्मारकमा उभिएर ईमान्दारिताको प्रतिज्ञा गरौं, जसले सहिदहरूको सपना पूरा गर्न मद्दत पुग्नेछ,” अर्यालले भने।
कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि सहिदहरूको बलिदानको उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने संकल्प व्यक्त गरे।


