वीरगन्ज – हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा-२०८१ मा बिपिएस प्लस टु कलेजका विद्यार्थी सुमित प्रसाद कलवार प्रथम भएका छन्। प्रतियोगितामा करिब २२ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै सुमितले प्रथम स्थान हासिल गरेपछि नगद २२,५०० रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन्। साथै, सोही कलेजका अनु साह, विशाल साह कलवार र सिताराम प्रसाद कुशवाहाले सान्त्वना पुरस्कारस्वरूप नगद १,१०० रुपैयाँ जितेका छन्।
कलेजका शैक्षिक निर्देशक दीपक पटेलका अनुसार परीक्षामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनले संस्थालाई गर्व महसुस गराएको छ। त्यस्तै, एचआर डाइरेक्टर सन्दीप कुशवा भन्छन्, “हाम्रो कलेजका विद्यार्थीहरूले हजारौं प्रतिस्पर्धीलाई उछिन्दै शीर्ष स्थान हासिल गर्नु गौरवको विषय हो।”
कार्यक्रम आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिएको थियो, जहाँ विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


