वीरगञ्ज महानगरपालिकाले विपी उद्यान क्षेत्रबाट हटाएका तरकारी तथा फलफूल व्यवसायीका कारण महानगर–२ छपकैयामा निर्माण गरिएको नयाँ व्यवस्थित थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा अवरोध भइरहेको किसानहरूले गुनासो गरेका छन्।
महानगरपालिकाले मङ्सिर २८ गते आइतबार बिहान एक्साभेटर प्रयोग गरी करिब डेढ दशकदेखि विपी उद्यानमा अस्थायी टहरा बनाएर सञ्चालन हुँदै आएका थोक तथा खुद्रा तरकारी–फलफूल पसल हटाएको थियो। त्यसपछि महानगरले छपकैयामा निर्माण गरेको नयाँ थोक बजारमा व्यवसायीहरू जान नमानेको र त्यहाँ कारोबार गर्न खोज्ने किसान तथा व्यापारीलाई समेत दबाब र अवरोध सिर्जना गरिएको किसानहरूको आरोप छ।
किसानका अनुसार विपी उद्यानमा अघिसम्म कारोबार गर्दै आएका केही व्यवसायीहरूले बारा जिल्ला तथा भारतबाट तरकारी बोकेर आउने व्यापारीहरूलाई छपकैयास्थित बजारसम्म नपुग्न दबाब दिइरहेका छन्। हरपुर, विश्रामपुर र भारतको सहदेवा महदेवाबाट तरकारी ल्याउने किसान तथा व्यापारीलाई बिहानैदेखि रोक्ने र अन्यत्र नलैजान चेतावनी दिने गरिएको उनीहरूको भनाइ छ। यस कारण पछिल्ला तीन दिनदेखि वीरगञ्ज बजारमा तरकारी आपूर्ति प्रभावित भएको किसानहरूले बताएका छन्।
किसानहरूले महानगरपालिकाले तोकेको स्थानमै तरकारी बिक्री गर्दा दीर्घकालीन रूपमा सबैका लागि सहज हुने बताएका छन्। “सुरुमा केही असहजता देखिए पनि विस्तारै किसान, व्यापारी र ग्राहक सबै बजार तोकिएको ठाउँमै केन्द्रित हुन्छन्,” एक किसानले भने। विगतमा विपी उद्यान सुरु हुँदा पनि यस्तै समस्या देखिएको तर पछि बजार चलेसँगै अहिलेका व्यवसायीहरू स्थानान्तरण गर्न नचाहेको उनीहरूको तर्क छ।
हाल विपी उद्यान र छपकैयामा निर्माण गरिएको नयाँ बजार दुवै स्थान पछिल्ला तीन दिनदेखि प्रायः सुनसान देखिएका छन्। विपी उद्यानमा थोक कारोबार बन्द भएपछि खुद्रा किनमेलका लागि आउने व्यापारी र ग्राहकको चहलपहल उल्लेख्य रूपमा घटेको छ। यद्यपि, खुद्रा व्यवसायीहरूले भने तरकारी, कपडा तथा खाजानास्ताको कारोबार आंशिक रूपमा निरन्तरता दिइरहेका छन्। कपडा बजारमा भीड देखिए पनि तरकारी बजारमा भने ग्राहक न्यून छन्। उता, छपकैयास्थित नयाँ बजारमा केही व्यापारीले मात्र सटर लिएका छन्, तर ग्राहक नआएको उनीहरूको गुनासो छ।
विपी उद्यानबाट थोक बजार हटेपछि त्यहाँबाट तरकारी खरिद गरी अन्य बजारमा बिक्री गर्ने व्यापारीहरू अहिले जीतपुर र कलैयाबाट तरकारी ल्याउन बाध्य भएका छन्। वीरगञ्जमा तत्काल प्रभावकारी थोक बजार नहुँदा र केही व्यवसायीले आन्दोलनका नाममा पर्सा, बारा, मकवानपुर तथा भारतबाट आउने तरकारी रोकेपछि वीरगञ्जका विभिन्न बजारका थोक खरिदकर्ता छिमेकी सहर धाउन थालेका छन्।
यसैबीच, विपी उद्यानबाट विस्थापित थोक तरकारी तथा फलफूल व्यवसायीहरूले पावरहाउस क्षेत्रमा नयाँ थोक बजार सञ्चालन गर्ने तयारी थालेका छन्। छपकैयामा सारिएको बजारको विकल्पका रूपमा सञ्जय कलवारको हिरोहोन्डा मोटरसाइकल शोरूम नजिकको खाली जग्गामा माटो खसालेर अस्थायी बजार बनाउने काम सुरु गरिएको छ।
छपकैयास्थित बजार अपायक परेको दाबी गर्दै व्यवसायीहरू पावरहाउस क्षेत्रमा बजार सञ्चालन गर्न लागेको बताइएको छ। पावरहाउसमा नयाँ बजार स्थायी रूपमा नखुल्दासम्म वीरगञ्ज भित्रिने तरकारी रोक्ने अभियान जारी राख्ने चेतावनीसमेत केही व्यवसायीले दिएका छन्।


