
वीरगन्ज, माघ ५: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेशमा ठूलो धक्का लागेको छ। लोसपाका केन्द्रीय उपाध्यक्ष तथा पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झा सहित हजारौँ कार्यकर्ता आज जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।

वीरगन्जमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राईले नेता झासहितका कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा जसपाका उपमहासचिव तथा नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले झालाई अबीर र टीका लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु कल्याणकारिणी समाजका महासचिव विकास चौधरी, र अन्य दलका सयौँ नेताकार्यकर्ता जसपामा समाहित भएका छन्।
जसपाका केन्द्रीय सदस्य जनार्दन यादवका अनुसार लोसपा, नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रका गरी ५०० भन्दा बढी नेता कार्यकर्ता एकैदिन जसपामा प्रवेश गरेका छन्।
कार्यक्रम जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो। जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायतको उपस्थिति रहेको थियो।


