एमाले संसदीय दलको बैठक काठमाडौँ, १३ वैशाखः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार सङ्घीय संसद भवन , ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
लुम्बिनी, वैशाख १३ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारमा प्रदेशका मन्त्री र सांसदहरुले असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका छन्।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, र पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले उद्घाटन समारोहमा सहभागिता जनाउन अस्वीकार गरेका हुन्।
कार्यक्रमस्थलमा आफूसहित प्रदेश प्रतिनिधिहरूलाई बस्ने उचित व्यवस्था समेत नगरिएको भन्दै मन्त्री ढकाल र सांसद गुप्ताले कार्यक्रम बहिष्कार गरेको बताए। गुप्ता, जो जनमत पार्टीका सांसद हुन्,ले लुम्बिनी विकास कोषले प्रदेश सरकार तथा स्थानीय जनताको निरन्तर उपेक्षा गरेको आरोप लगाए। उनले संघीयताको मर्मअनुसार कोषमा प्रदेशको अधिकार सुनिश्चि गर्न अब गम्भीर बहस आवश्यक रहेको बताए।
‘स्थानीयले आफ्नो भूमि दिएर विकास कोष बनाएका हुन् तर कोषले स्थानीयको सम्मान र अपनत्व कहिल्यै स्वीकार गरेन,’ गुप्ताले भने, ‘अब हामी अधिकार सुनिश्चित गर्न स्थानीयको साथमा अगाडि बढ्नेछौं।’
एमाले निकटका मन्त्री ढकालले भने कार्यक्रम बहिष्कार नभई स्थान अभावका कारण कार्यक्रममा बस्न नसकेको बताए। उनले “उभिएर कार्यक्रम हेर्ने अवस्था नदेखेर फर्किएको” स्पष्ट पारे।
यता मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने पूर्व निर्धारित अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले उद्घाटन कार्यक्रममा बस्न नपाएको प्रतिक्रिया दिएका छन्।
लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले पनि लुम्बिनी विकास कोषप्रति स्थानीयको असन्तुष्टि झन् बढ्दो रहेको बताए। उनले कोषलाई प्रदेश सरकार मातहत ल्याएर स्थानीय नेतृत्व कायम गर्नुपर्ने माग दोहोर्याए।
नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले वैशाख १३ र १४ गते आयोजना गरिएको उक्त कार्यक्रममा चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्य रहेको छ। नेपालको संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोष आयोजकको भूमिकामा छन्।


