रौतहट, ८ वैशाख।
रौतहटको मौलापुर नगरपालिका क्षेत्रभित्र स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला, कुन्डवा चैनपुर बजार निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेका छन्।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक प्रवेश कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वडा नम्बर ६ पथराबुधराम क्षेत्रमा शंका लागेपछि भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR 05 AC 9477) जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाइ राखिएको झोलाबाट १० लाख नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
ठाकुर भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उक्त रकम वैध माध्यमबाट ल्याइएको प्रमाण फेला नपरेको र रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ। रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले निर्देशित गरेको अवैध कारोबार नियन्त्रण अभियान अन्तर्गत सो सफलता मिलेको जनाइएको छ।
स्थानीय बासिन्दाले पनि प्रहरीको पछिल्लो अभियानलाई सकारात्मक रुपमा लिएका छन्। उनीहरूका अनुसार सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी र अवैध कारोबार नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता प्रशंसनीय छ।


