८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटन भइसकेको प्रतिनिधिसभासँग सम्बन्धित समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले तथा हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वसँग अलग–अलग नभई संयुक्त छलफल गर्ने कार्यक्रम तय भएको हो। यस अन्तर्गत कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
राष्ट्रपतिको कार्यालयका अनुसार बुधबार दिउँसो ३ बजे शीतल निवासमा उक्त भेटवार्ता आयोजना हुनेछ। यद्यपि, छलफलको औपचारिक कार्यसूची र मुख्य विषयवस्तुबारे राष्ट्रपति कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
राजनीतिक वृत्तमा भने पछिल्लो घटनाक्रम र आगामी राजनीतिक दिशाबारे संवाद केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।


