गण्डकी, ३ कात्तिक: पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ। जिल्ला अदालत कास्कीले अनुसन्धानको लागि अनुमति दिएपछि काठमाडौँबाट शुक्रबार पक्राउ परेका लामिछानेलाई राति नै सडकमार्ग हुँदै पोखरा ल्याइएको हो।
लामिछानेको स्वास्थ्य परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइएको थियो। परीक्षणपछि बिहान करिब ३ बजे उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको जानकारी प्राप्त भएको छ।
आज शनिबार सार्वजनिक बिदा परेका कारण रवि लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ।


