काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बित गरिएको छ। संघीय संसद् सचिवालयले सोमबार जारी गरेको सूचनामा लामिछानेको निलम्बनको जानकारी दिइएको हो।

संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “प्रचलित कानुनअनुसार, कुनै पदाधिकारी, कर्मचारी वा राष्ट्रसेवकलाई मुद्दा दायर भएमा, मुद्दा किनारा नभएसम्म स्वतः निलम्बनमा रहेको मानिने व्यवस्था रहेको छ। उक्त कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना जारी गरिएको हो।”
सरकारी वकिल कार्यालय कास्कीले आइतबार रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा मुद्दा दायर गरेको थियो। प्रहरीले आइतबार नै जिल्ला अदालत कास्कीमा अभियोगपत्र पेश गरेपछि सभामुख देवराज घिमिरेलाई औपचारिक पत्रमार्फत जानकारी गराइएको थियो।
लामिछानेमाथि लागेको आरोप र त्यसको कानुनी प्रक्रियाले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ। अब उनको राजनीतिक भविष्य र रास्वपाको भूमिकामा के प्रभाव पर्छ भन्ने विषयमा चासो बढेको छ।


