वीरगंज: संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आगामी २०८४ सालको निर्वाचनसम्म वर्तमान सरकार निरन्तर चल्ने विश्वास व्यक्त गरेका छन्। वीरगंजमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री चौरसियाले सत्तारुढ दलहरूबिच संविधान संशोधनको विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
कानुन मन्त्री चौरसियाले कांग्रेस र एमालेबिच संविधान संशोधनसहितका ७ बुँदे सहमतिमा नै अहिलेको सत्तासमिकरण बनेको र बाहिर प्रचारमा आएको जस्तो संविधान संशोधनको मुद्दाबाट सत्तारुढ दलहरू पछि नहटेको प्रष्ट पारे।
संविधान संशोधनका लागि छलफल जारी
उनले संविधान संशोधनको विषयमा सत्तारुढ दलहरूमध्ये आन्तरिक छलफल भइरहेको र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि संवाद र छलफल हुने जानकारी गराए। संविधान संशोधन हतारमा गर्ने विषय नभएको भन्दै उनले सत्तामा रहेका र सत्ताबाहिर रहेका सबै दलहरूबीच साझा सहमति गरेर मात्र संविधान संशोधन गरिने बताए।
सरकारको दीर्घकालीन स्थायित्वको प्रतिबद्धता
मन्त्री चौरसियाले वर्तमान सरकार कांग्रेस र एमालेको सहकार्यमा बनेको उल्लेख गर्दै २०८४ सालको निर्वाचनसम्म कुनै फेरबदल नहुने दाबी गरे। “यो सरकार दुई ठूला पार्टीको सहकार्यमा बनेको छ, त्यसैले यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ,” उनले भने।
एजेण्डामा सुशासन, अर्थतन्त्रको पुनरुत्थान
संविधान संशोधन, सुशासन, र अर्थतन्त्रलाई पुनः चलायमान बनाउनेजस्ता एजेण्डामा वर्तमान सत्तासमिकरणको उद्देश्य रहेको बताउँदै मन्त्री चौरसियाले यी कार्यहरू पूरा भएपछि मात्रै अर्को समिकरणको सम्भावना रहेको स्पष्ट पारे।
सरकारको तीन महिनाको उपलब्धि
मन्त्री चौरसियाले वर्तमान सरकारको तीन महिनाको कार्यकाललाई सफल रहेको बताउँदै जनताको असन्तुष्टि विस्तारै सम्बोधन गर्दै अघि बढिरहेको दाबी गरे। साथै, विगत डेढ दशकदेखि अड्किएको टीआरसी विधेयकलाई कानुन मन्त्री बनेपछि सबै दलको सहमतिमा संसदबाट पारित गराएको उपलब्धिलाई पनि उनले उल्लेख गरे।
कार्यक्रममा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


