म्याग्नस फर्माले होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, सञ्चारकर्मी दिपेन्द्र चौहान, श्याम बन्जारा लगायत थुप्रै पत्रकारहरू कार्यक्रममा सहभागी भए।
कार्यक्रम म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रसाद मास्केको अध्यक्षतामा सम्पन्न भएको थियो। मास्केले म्याग्नस फर्माको स्थापना सन् २००७ मा भई, सन् २००९ देखि औषधि उत्पादन सुरु गरेको जानकारी गराए। उनले कम्पनीले १६ वर्षको अवधिमा देशकै प्रतिष्ठित औषधि उत्पादकको रूपमा आफूलाई स्थापित गरिसकेको उल्लेख गरे।
हाल कम्पनीले १०९ ब्रान्डका २०७ प्रकारका औषधिहरू उत्पादन गरिरहेको छ। तीमध्ये ५ वटा औषधिहरू पहिलो पटक नेपाली बजारमा ल्याइएका छन् भने ३४ भन्दा बढी उत्पादनहरू नेपालमै पहिलो पटक निर्माण भएका छन्। विशेष गरी मधुमेह उपचारका लागि GLIPTIN (Sitagliptin), अल्जाइमर्स रोगका लागि DOPEZIL (Donepezil) तथा हेपाटाइटिस सी र बीका लागि SOFUVIR (Sofosbuvir), TENOF (Tenofovir), ENTECA-B (Entecavir) जस्ता औषधिहरू पहिलो पटक नेपाली ब्रान्डमा उपलब्ध गराइएको छ। म्याग्नस फर्माले नाफाभन्दा सेवामुखी उद्देश्यका साथ मिर्गौलासम्बन्धी SONATE (Sodium bicarbonate) जस्ता अत्यावश्यक औषधिहरू पनि उत्पादन गरिरहेको छ।
विश्व स्वास्थ्य संगठनको WHO-GMP मापदण्डअनुसार कम्पनीले अत्याधुनिक प्रविधि अपनाउँदै औषधि उत्पादन गरिरहेको छ। प्रविधि र उत्पादन प्रणालीमा निरन्तर सुधार गर्दै आएको म्याग्नस फर्मा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र कुशल व्यवस्थापनयुक्त कम्पनीका रूपमा स्थापित भएको छ।
म्याग्नस फर्माले नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। भेनेजुएला, मौरिसस लगायतका देशहरूमा कम्पनीले औषधि निर्यात गरिरहेको छ, जसले नेपालको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
कम्पनीको गुणस्तरीय उत्पादन र उत्कृष्ट व्यवस्थापनको मान्यताको रूपमा म्याग्नस फर्माले सन् २०१९ मा Pharma Leadership Award तथा सन् २०२३ मा Corporate Excellence Award प्राप्त गरिसकेको छ।
नयाँ अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा
कम्पनीले WHO-GMP मापदण्डअनुसार अत्याधुनिक Parenteral Plant (Injectable Plant) को निर्माण कार्य अन्तिम चरणमा पुर्याइसकेको छ।
७,८४६ वर्ग फिट क्षेत्रफलमा स्वचालित तथा अत्याधुनिक सामान भण्डारण कक्ष निर्माण गरिएको छ, जसमा २९ वटा मोबाइल न्याकिङ्ग प्रणाली जडान गरिएको छ। यो प्रणाली नेपालमा पहिलो पटक म्याग्नस फर्माले प्रयोग गरेको हो। Warehouse को तापक्रम र आर्द्रता कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीको आवश्यकताअनुसार नियन्त्रण गरिन्छ। संवेदनशील औषधिहरूको लागि २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गर्न सकिने विशेष कूल चेम्बरको पनि व्यवस्था गरिएको छ।
Injectable औषधिले स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने
म्याग्नस फर्माका अध्यक्ष सन्दीप तुल्सिपानका अनुसार नयाँ उत्पादनहरू उच्च गुणस्तरयुक्त हुने र यसले नेपालमा औषधि आयात प्रतिस्थापन गर्न मद्दत गर्नेछन्।
प्राविधिक निर्देशक सर्वोत्तम गिरिले Injectable औषधि निर्माण अत्यन्त संवेदनशील प्रक्रिया भएको उल्लेख गर्दै, उच्चतम सुरक्षा र गुणस्तर मापदण्ड कायम गरिने प्रतिबद्धता जनाए। उनले यो प्लान्ट नेपालको औषधि उद्योगको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
वित्तीय निर्देशक विनित लोहियाले Injectable Plant तथा Warehouse निर्माणमा १ अर्बभन्दा बढी लगानी भइसकेको जानकारी गराए। गुणस्तरीय औषधि उत्पादनमा कुनै सम्झौता नगर्ने नीति अनुरूप कम्पनी अघि बढिरहेको उनले बताए।
कार्यक्रमको अन्त्यमा प्रबन्ध निर्देशक सुधिर प्रसाद मास्केले कठिन परिस्थितिसँग जुध्दै कम्पनीले नयाँ प्लान्ट निर्माणको अन्तिम चरणमा प्रवेश गरिसकेको उल्लेख गरे। गुणस्तरीय औषधि उपभोग गर्ने अधिकार प्रत्येक नेपाली नागरिकको मौलिक हक भएको बताउँदै उनले आगामी उत्पादनहरूले देशको स्वास्थ्य प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।


