निरंजन शाह,
काठमाडौं, ११ चैत – खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई पर्याप्त अवसर प्रदान गरिएमा उनीहरू प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली उत्कृष्ट काम गर्न सक्षम हुने बताएका छन्। सोमबार राजधानीमा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व: अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले महिलाहरू कुनै पनि हिसाबले कमजोर नरहेको स्पष्ट पारे।
मन्त्री यादवले नेपालमा महिलाले राष्ट्राध्यक्षदेखि अन्य उच्च प्रशासनिक जिम्मेवारी निभाइसकेको उल्लेख गर्दै प्रधानमन्त्री पद पनि महिलाले राम्रोसँग सम्हाल्न सक्ने दाबी गरे। “हाम्रो देशमा राष्ट्राध्यक्षको रूपमा विद्यादेवी भण्डारीज्यूले सफल नेतृत्व गरिसक्नुभएको छ। प्रतिनिधिसभाको सभामुख, प्रधानन्यायाधीश, मुख्यसचिवजस्ता महत्वपूर्ण पदमा महिलाहरू पुगिसकेका छन्। त्यसैले प्रधानमन्त्रीको भूमिका पनि महिलाले सजिलै निर्वाह गर्न सक्छन्, तर उनीहरूलाई अवसर दिनुपर्छ,” उनले भने।
उनले महिलाहरूलाई अघि बढ्न नदिने मानसिकता परिवर्तन गर्नुपर्ने बताउँदै समानुपातिक समावेशीताको सिद्धान्तलाई व्यवहारमा उतार्न आग्रह गरे। साथै, खानेपानी उपभोक्ता महासंघमा ४२ हजार उपभोक्तामध्ये कम्तीमा १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने उनले सुझाए। मन्त्री यादवका अनुसार महिलाहरू शिक्षामा मात्र नभई नेतृत्व क्षमतामा पनि अब्बल छन् र उनीहरूलाई अवसर दिनु विकासको प्रमुख पक्ष हो।


