मनिला – आइतबार फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा लागेको भीषण आगलागीले झन्डै दुई हजार परिवारलाई विस्थापित गरेको छ। स्थानीय अधिकारीहरूले आगलागीबाट करिब एक हजार घर जलेर पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन्।
मनिला सिटी फायर डिपार्टमेन्टका प्रमुख अलेजान्ड्रो रामोसका अनुसार बिहान लागेको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको थियो। साँघुरा गल्लीहरूले आगो नियन्त्रण गर्ने काम थप जटिल बनाएको उनले बताए।
आगो निभाउन फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ नजिकको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत पानी छर्किएको थियो भने तटरक्षक बलले चार वटा दमकलको सहयोग पठाएको थियो। करिब ३० वटा दमकलले आगो निभाउने प्रयास गर्दा पनि खाडी क्षेत्रबाट आएको तीव्र हावाले आगो अझै तीव्र बनेको थियो।
आगलागीपछि प्रभावित बासिन्दाहरू खुला सडकमा आश्रय लिन बाध्य भएका छन्। साँघुरा गल्ली र भग्नावशेषका कारण अग्निनियन्त्रकहरूलाई आगलागी भएको क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले दिउँसो २ बजेसम्म आगो पूर्ण नियन्त्रणमा आएको घोषणा गरेको छ। घटनामा कुनै मृत्यु नभएको भए पनि केही अग्निनियन्त्रक घाइते भएको जनाइएको छ।
आगोको कारणबारे अनुसन्धान भइरहेको छ। यो आगलागीले मनिलाका अवैध बस्तीहरूमा बसोबासको जोखिमपूर्ण अवस्थालाई पुनः उजागर गरेको छ।


