
वीरगन्ज, पर्सा – मधेश प्रदेशस्तरीय नारी कविता गोष्ठी २०८१ शनिबार वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्य/पद्य विभाग) र भोजपुरी प्रतिष्ठान वीरगन्जको संयुक्त आयोजनामा सम्पन्न उक्त गोष्ठी त्रिजुद्ध मावि, वीरगन्जमा आयोजना गरिएको थियो। कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
गोष्ठीको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य/पद्य विभाग प्रमुख बाबा बस्नेतले माता सरस्वतीको तस्वीरमा अबिर अर्पण गरी गरेकी थिइन्।
महिला सिर्जनशक्तिको प्रभावशाली प्रस्तुति
मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी महिला कवयित्रीहरूले आफ्ना सशक्त रचना प्रस्तुत गरेका थिए। वक्ताहरूले महिलाहरूलाई केवल गृहस्थीका काममा मात्र सीमित गरिनु पर्ने परम्परागत सोचलाई तोड्ने खालका सशक्त कविता प्रस्तुत भएको बताएका थिए।
भाषा आयोगका सदस्य एवं भोजपुरी प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कका अनुसार यो कार्यक्रम सम्भवत: मधेश प्रदेशमै पहिलो पटक महिला मात्र केन्द्रित साहित्यिक कार्यक्रम हो।
कवयित्रीहरूको सहभागिता
गोष्ठीमा विभिन्न जिल्लाका महिला स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए। सहभागी हुनेहरूमा:
- सर्लाही – सुमित्रा आचार्य
- महोत्तरी – मञ्जु मञ्जुभाषिणी
- सप्तरी – मिन्टु पटेल, रञ्जना झा
- धनुषा – पूनम झा ‘मैथिली’
- रौतहट – रेणुका जीसी
- बारा – रीता चौधरी, सीता अधिकारी, राज श्री
- पर्सा – अनु कुमारी मेहता, मञ्जु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, सानिया हाडा
महिला साहित्यकारहरूको अवस्था र चर्चा
गोष्ठीमा गीता भण्डारीले मधेश प्रदेशको साहित्यमा महिलाहरूको भूमिका र अवस्था विषयक कार्यपत्र प्रस्तुत गरिन्। उक्त कार्यपत्रमा शोभा कुमारी पटेलले टिप्पणी गरेकी थिइन्।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका महाशाखा प्रमुख संध्या पहाडी, भोजपुरी प्रतिष्ठानका सल्लाहकार गोपाल अश्क, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहलगायत विभिन्न साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो।
स्वागत र सहजीकरण
कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले गरेका थिए भने माधुरी महतोले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
यो गोष्ठीले मधेश प्रदेशमा महिला साहित्यकारहरूको सिर्जनशीलता उजागर गर्दै उनीहरूको सशक्तिकरणको अभियानलाई थप बल प्रदान गरेको सहभागीहरूले बताएका छन्।


