भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा दोस्रो दिन पनि भीषण गोलीबारी जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जम्मु–कश्मीरमा भएको आतंककारी हमलापछि उत्पन्न तनावका कारण हिजोदेखि दुवै मुलुकका सेनाबीच भारी भिडन्त भइरहेको हो।
भारतले २६ जनाको ज्यान लिएको हमलाको जिम्मेवारी पाकिस्तानसँग जोडिएको भन्दै कडा प्रतिक्रिया जनाएको छ। भारतको आरोपअनुसार, आतंककारी समूह ‘द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ)’ले हमलाको जिम्मा लिएको छ र यसलाई पाकिस्तानको सेना तथा गुप्तचर निकायहरूले समर्थन गरिरहेका छन्। यता, पाकिस्तानले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेको छ।
सीमामा रातभरि चलेको गोलीबारीबाट कति जनाको मृत्यु वा घाइते भएको छ भन्नेबारेमा हालसम्म दुबै पक्षले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
उता, भारत–पाकिस्तान तनाव चर्किंदै जाँदा संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई धैर्य अपनाउन र समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गरेको छ।
अर्कोतर्फ, पाकिस्तानले भारतीय विमानलाई आफ्नो आकाश प्रयोग गर्न निषेध गरेको छ। भारतले सिन्धु जलसम्झौतामा पुनर्विचार गर्दै कडा कदम चालेपछि पाकिस्तानले आकाशमा प्रतिबन्ध लगाएको बताइएको छ। पाकिस्तानको यो निर्णयपछि भारतका प्रमुख विमान सेवा प्रदायक कम्पनीहरू, जस्तै एयर इन्डिया र इन्डिगो प्रभावित भएका छन्। अब यी विमानहरूलाई लामो दूरी पार गर्नुपर्ने भएकाले उडान समय तथा खर्च दुवै बढ्ने भएको छ।


